in ,

मानवयात्रा : जन्मदेखि खरानीसम्म

Spread the love

कुनै मान्छेको उमेर ४० वर्षको छ । ऊसँग घरजग्गा छ, परिवारमा श्रीमती, छोराछोरी र आमाबाबु पनि छन् । व्यापार छ वा जागिर, आम्दानीको स्रोत गतिलै छ । छोराछोरी पढेकै छन्, लाउन–खानको पनि कुनै सुर्ता छैन । समाजमा महसुस गरिने सामाजिक हैसियत पनि कमजोर छैन । तैपनि, ४० वर्षे व्यक्तिको मन शान्त छैन । सुख र आनन्दको महसुस जीवनमा कहिल्यै गर्न पाएको छैन । ४० वर्षे व्यक्तिको मात्रै होइन, ५० वर्षे वा ६० वर्षे वा त्योभन्दा बढी वा घटीको पनि हालत उस्तै छ । मनमा लोभ त्यस्तै, अहंकार त्यस्तै, बेइमानीपन त्यस्तै ।

अरुलाई सकेसम्म होच्याउँदा क्षणिक आनन्द महसुस गर्ने आदत उस्तै । कुल मिलाएर सकारात्मकभन्दा कयौैँ गुणा नकारात्मक र खराब चिन्तन लिएर बाँचिरहेको अवस्था । यसको, उसको, त्यसको, यहाँ बस्नेको, त्यहाँ बस्नेको, जतासुकै बस्नेको पनि हालत उस्तै । यस्तो आखिर किन भएको हो ? सबै चीज भएर पनि केही नभएसरी अत्तालिएको मान्छेको यो खालको समस्याको कुनै समाधान छैन ? अवश्य छ । समाधानको उपाय हो– सत्यलाई स्वीकार्ने आँट । हो, निश्चित रुपमा कुनै पनि मान्छेले सत्यलाई मनन् गर्ने आँट गर्छ भने आफू त सुखी र खुशी हुन्छ नै, आफन्त भन्ने गरिएको र पराई ठान्ने गरिएको हरेक मान्छेलाई सुख र आनन्द दिन सक्छ । यसमा शंकै नगर्दा हुन्छ । उसो भए त्यो सत्य के हो, जुन सत्यलाई हाँसीहाँसी मनन् गर्नुपर्छ ?

परिवर्तन सत्य हो । परिवर्तनलाई स्वीकार्नु पर्छ । परिवर्तनजत्तिको अकाट्य सत्य अरु हुनै सक्दैन । जन्म परिवर्तन हो भने मृत्यु पनि परिवर्तन हो । जन्मँदा एउटा आकारप्रकार हुन्छ भने मर्दाका बखत आकारप्रकार र रुप पूरै परिवर्तन भइसकेको हुन्छ । अब फेरि कुनै एक ४० वर्षे उमेरवाला व्यक्तिलाई उमेर बढाएर र घटाएर हेरौँ । ४० वर्षमा २० वर्ष उमेर थपेर हेरौँ । अनुहारमा चाउरीपन देखा पर्छ । काम गर्ने जाँगर जति ४० वर्षमा थियो, त्यति हुँदैन । खानाको मात्रा घट्छ । शरीरका अंगहरु केही मात्रामा गल्छन् ।

६० वर्ष उमेरको त्यही व्यक्तिलाई अर्को २० वर्ष थपेर हेरौँ । उमेर ८० हुन्छ । असी वर्षको उमेरवाला वृद्धलाई समाजका कुनाकाप्चामा भेट्न सकिन्छ । कपाल सेतै फुलेको हुन्छ । गाला पूरै नभए पनि ८० प्रतिशत चाउरी परेको हुन्छ । खाना खान मन लाग्दैन । किन पनि खानामा अरूचि देखा पर्छ भने खाना पचाउने इन्जिन नै पुरानो र शिथिल भइसकेको हुन्छ । स्मरणशक्ति कमजोर हुन्छ । आँखा धमिलो हुन्छ । शरीरबाट मासुको मात्रा कम हुन्छ । छाला हड्डीमा टाँसिन्छ । पाइला सार्न मुस्किल हुन्छ । श्वासप्रश्वासमा कमजोरी देखा पर्छ । कुल मिलाएर शरीरका प्रायः सबै अंगहरु पुराना र कमजोर हुँदै जान्छन्, ठीकसँग काम गर्न सक्दैनन् ।

८० वर्षको मान्छेले दिसापिसाब पनि ठीक तरिकाले व्यवस्थापन गर्न सक्दैन । कुनै बेला अर्काको आकर्षक ज्यान देख्दा लोभिएर मुखबाट पानी बगाउने मान्छे आफ्नो शरीर देख्दा घिन मान्ने अवस्थामा पुग्छ । त्यसमाथि फेरि २० वर्ष थपेर हेरौँ । यतिबेला ऊ १०० वर्षको हुन्छ । १०० वर्षको मान्छेसँग केही बाँकी रहँदैन, रहन्छ भने नसुन्ने कान हुन्छ । नदेख्ने, देखे पनि साह्रै धमिलो देख्ने आँखा हुृन्छ । खाना पचाउन नसक्ने आन्द्रा र प्यान्क्रियाजहरु हुन्छन् । पौष्टिक आहार ग्रहण गर्न सक्ने वा चपाउन नसक्ने गिजामात्रै हुन्छ । स्वादै थाहा नपाउने जिब्रो बाँकी रहन्छ । कमजोर धड्कनवाला मुटु, बिस्तारै काम गर्ने मृगौला, थोरै काम गर्ने फोक्सोलगायतका भित्री अंगहरु बाँकी रहन्छन् ।

कुनै एउटा अंगले कतिबेला काम गर्न छाड्छ, थाहा हुँदैन । यसको अर्थ १०० वर्ष पुगेर वृद्ध शरीर कतिबेला ढल्छ, थाहा हुँदैन । यतिबेलालाई शरीर छाड्ने वा मर्ने अवस्थाको कल्पना गर्न सकिन्छ र उमेर थपिएको सम्बन्धित व्यक्तिले आफूलाई १०० वर्ष पुगेको कल्पना गरेर मृत्युशैयामा बसेको र डढेर खरानीसम्म भएको सजिलै अनुमान र कल्पना गर्न सक्छ । आफ्नो खरानी आफैँ हेर्न पनि सक्छ । प्रमाण यही हो कि हिजो ४० वर्षको मान्छे आज खरानीमा परिणत भएको छ । त्यही ४० वर्षको मानिस भविष्यको खरानी हो । यसमा कसैले शंका नगर्दा हुन्छ र सत्य हो पनि यही ।

अब त्यही ४० वर्षको मानिसलाई २० वर्ष उमेर घटाएर हेरौँ । अब ऊ २० वर्षको जवान भयो । उसको फूर्तिफार्ती बेग्लै हुन्छ । सीधामात्रै हेर्दैन, ऊ दायाँबायाँ पनि हेर्छ । किनकि, त्यो उमेर भनेको सीधामात्रै हेर्ने उमेर होइन, न त आफ्नो ज्यानमात्रैले चित्त बुझाउँछ । ऊ आफ्नो ज्यानको भन्दा ज्यादा अरुको ज्यानको खोजी गर्छ । मीठो खान खोज्छ र राम्रो लाउन खोज्छ । ढिला हिँड्न उसलाई मन हुँदैन । ढिलो भन्ने शब्दै मन पराउँदैन । जहिलेसुकै उसलाई हतारमात्रै हुन्छ । खान हतार, लाउन हतार, उठ्न–हिँड्न, यो गर्न र त्यो गर्न, दिनको काम गर्न दिनमा हतार, रातको काम गर्न रातमा हतार । ऊ सधैँभरि हतारमा हुन्छ । अब त्यही २० वर्षको उमेरलाई पूरै घटाएर हेरौँ । हिसाब आमाको पेटभित्र छ भन्न सकिन्छ ।

त्यो उमेरलाई पनि घटाएर वा कुनै पुरूषको वीर्य बस्ने पोकालाई नियालेर हेरौँ । वैज्ञानिकहरुका अनुसार एकपटकको सम्भोगमा करिब ३ करोड शुक्रकीट स्खलित हुन्छन् । नांगो आँखाले देख्न नसकिने, माइक्रोस्कोपले मात्रै देख्न सकिने ती तीन करोड कीराहरुमध्ये एउटामात्रै कीरा कुनै एक महिलाको पाठेघरमा प्रवेश गर्छ ।

अपवादको संख्यालाई छाडेर पाठेघरमा प्रवेश गर्ने त्यही एउटा कीरा हो, जो १०० वर्ष पुगेर खरानीमा परिणत हुन्छ । त्यस कारण, जन्मिनुअघिको तीन करोडमध्येको एउटा कीरा, त्यही कीराको भविष्यको रुप खरानी हो भन्ने सत्य यहाँनेर प्रस्ट हुन आउँछ । आँखाले देख्न नसकिने कीरा, बीचको १०० वर्षसम्मको मान्छे र भविष्यको हावामा विलीन हुने खरानी । मान्छेको जीवनको अन्तिम सत्य यही हो ।

गिरिजाप्रसाद कोइराला आँखाले नदेखिने कीरा थिए । बीचमा उनलाई मान्छे भनियो । केही समयपछि राजनीतिज्ञ भनियो । नेपाली कांग्रेसका सभापति भनियो । एक दिन उनलाई डढाएर खरानी पारियो । पहिले कीरा, बीचमा मान्छे, मान्छे छँदा प्रधानमन्त्री, अनि त्यसपछि खरानी । राजा वीरेन्द्र पहिले कीरा थिए । बीचमा मान्छेको रुपमा राजा भए । कसैले गोली हानेर शरीर छेदन गरिदियो ।

अन्तिममा उनी खरानीमा परिणत भए । पहिलेको कीरा मदन भण्डारी पछि खरानी भए । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, विश्वेश्वरप्रसाद कोइराला पनि कीराबाट मान्छेको रुपमा प्रकट भएपछि खरानीमा परिवर्तन भए । एमालेका अध्यक्ष केपी ओली, एमाओवादीका औधी तगडा अध्यक्ष तथा हालका प्रधानमन्त्री प्रचण्ड पनि हिजोका आँखाले नदेखिने कीराहरु हुन् । आज ती सबै नेता भएका छन् । यिनको भविष्यको रुप पनि खरानी नै हो ।

आजका सभासद्, नेता, मन्त्री, डाक्टर, इन्जिनियर, राष्ट्रपति, प्रधानन्यायाधीश, सेनापति, प्रहरी महानिरीक्षक मात्रै हिजोका कीरा र भोलिका खरानी होइनन्, ६ महिना अन्न खाने बाँकी ६ महिना गिठा, भ्याकुर र कन्दमूलमा जीवन धान्ने गरिब चेपाङहरु पनि हिजोका कीरा र भोलिका खरानी हुन् ।

यतिबेलाका धनी, उच्च ओहदाका, सुन्दर, सुन्दरी, शिक्षितहरु मात्रै हिजोका कीरा र भविष्यका खरानी होइनन्; कंगाल, निम्नस्तरका, कुरुप र अशिक्षितहरु पनि हिजोका कीरा र भोलिका खरानी नै हुन् । सत्य यही हो । यदि हरेक मानवशरीरमा आएकाहरुले यो सत्यलाई मनन् गर्ने हो भने मानवजीवन मात्रै होइन, संसारका हरेक प्राणीको जन्म लिएपछि मृत्यु निश्चित् छ भन्ने सत्यलाई दिनमा कम्तीमा एकपटक मनन् गर्ने हो भने शान्ति यहीँ छ, आनन्द यहीँ छ । यही सत्यले आर्थिक भ्रष्टाचार र अनियमितताको अन्त्य गर्ने छ ।

समतामूलक समाजको निर्माण पनि सजिलैसँग हुनसक्छ । हुने पनि सुखी र नहुने पनि सुखी हुने सूत्र योभन्दा अरु फेला पार्न कुनै पनि हालतमा सकिने छैन । अब के यो सत्यलाई मनन् गर्ने आँट सबैमा पलाउला ? हिजोका कीरा, आजको मान्छे, भोलिको खरानी– जवाफ देऊ । चितवन पोष्ट दैनिकको सहयोगमा।

यो पनि पढ्नुस

दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् ।सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ ।

हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ ।यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक छ ।

‘जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिले बताएको छ ।दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढाटाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् ।

छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ ।दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् ।

दुप्चेश्वर महादेवको उत्पत्ति:

पौराणिक कथनअनुसार चारसय वर्षअघि स्थानिय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुरको पहरोमा आफ्नो चारै थुनबाट दुध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुप्चेश्वर महादेव रहेको विश्वासमा प्रत्यक वर्ष धान्यपूर्णिमाका दिन विषेश मेला लाग्दै आएको छ ।अर्कोतर्फ, समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुण्ड जाँदा दुप्चेश्वरमा आएको जनश्रुती पाइन्छ ।

त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पती भएका र पछि अपभ्रश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ । दुप्चेश्वर महादेवको मेला भर्न राजधानी काठमाण्डौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवन लगायत देशका विभिन्न भागहरुबाट यहाँ वर्षेनी हजारौँ दम्पती भक्तजनहरु महादेवसँग सन्तान माग्न आउने गरेका छन् ।धार्मिक पर्यटनको गन्तव्यको रुपमा गतिलो सम्भावना बोकेको यस मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ ।

सरकारी स्तरबाट यहाँ कुनैपनि पर्यटकिय महत्वको प्रचारप्रसार नभएकोले मेलाबाहेक अन्य समयमा यहाँ आउनेको संख्या अति नै न्यून रहेको दुप्चेश्वर मेला संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ ।दुप्चेश्वर महादेव जस्ता धार्मिक एवम् ऐतिहासिक सम्पदाको संवद्र्धन र प्रचारप्रसार गरी आन्तरिक एवम् वाह्य पर्यटकहरु भित्र्याउन सके नुवाकोटको मात्र नभई राष्ट्रिय आर्थिक समुन्नतिमा महत्वपूर्ण देन रहने बुद्धिजिवीहरुको विश्वास छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0